महिलालाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम सञ्चालन गरेका हौँ : वडा अध्यक्ष गुप्ता

80

वीरगञ्ज — युवा नेपाल सङ्घको आयोजना तथा वीरगञ्ज महानगरपालिका वडा नं. ९ को सहयोगमा आजदेखि एक महिने सिलाई कटाई तालिम तथा मेसिन वितरण कार्यक्रम सुरु भएको छ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि जवाहर प्रसाद गुप्ताले महिलाहरू तथा युवायुवतीलाई आत्मनिर्भर बनाउने उद्देश्यले वडा कार्यालयले विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आएको बताए। उनले सिलाई कटाई, कम्प्युटर, लोकसेवा, ब्युटिसियन तथा डल बनाउने तालिममार्फत सामान्य परिवारको आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्य रहेको उल्लेख गरे।

उनले आफ्नो कार्यकालमा सबैलाई सिपबाट दक्ष बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको भन्दै तालिमको भरपुर फाइदा उठाउन सहभागीहरूलाई आग्रह गरे।

सिलाई कटाई तालिममा २० जना महिलाहरूको सहभागिता रहेको छ। तालिम समापनपछि सहभागीलाई निःशुल्क सिलाई मेसिन वितरण गरिने जनाइएको छ।

कार्यक्रममा युवा नेपाल सङ्घकी उपाध्यक्ष सोनाली सावाले तालिम केवल मेसिन प्राप्त गर्ने उद्देश्यका लागि नभई आत्मनिर्भर बन्ने माध्यमका रूपमा लिनुपर्ने बताइन्। महिलाहरू आर्थिक रूपमा सक्षम भए सानोतिनो आवश्यकताका लागि अरूमाथि निर्भर हुनुनपर्ने उनको भनाइ थियो।

उद्घाटन समारोहमा वडा सचिव मेघराज श्रेष्ठ, वडा सदस्यहरू नन्द किशोर चौहान, लालबाबु प्रसाद कलवार, गीता मानन्दर, सोनी पासवान, नेपाल महिला विकास सङ्घकी अध्यक्ष मेनु देवी रौनियार, युवा नेपाल सङ्घका कोषाध्यक्ष शिवशंकर श्रीवास्तवलगायतले मन्तव्य व्यक्त गरेका थिए।

तालिम अवधिभर स्नेहा लत्ताले प्रशिक्षण दिइरहेकी छन् भने कार्यक्रमको सहजीकरण ममता कुमारीले गरेकी थिइन्।

Leave A Reply

Your email address will not be published.