२०० भन्दा बढी पर्यटन व्यवसायीको सहभागितामा मधेस ट्राभल मार्ट सम्पन्न, भारतीय पर्यटक आकर्षित गर्न प्रवर्द्धनमा जोड

43

वीरगञ्ज, ३१ जेठ — मधेस प्रदेश को पर्यटन प्रवर्द्धन तथा यहाँका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित ‘मधेस ट्राभल मार्ट’ आइतबार सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिका को संयुक्त आयोजनामा भएको कार्यक्रमको समन्वय नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) ले गरेको थियो।

चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेपाल र भारतका विभिन्न सहरबाट २०० भन्दा बढी पर्यटन व्यवसायी, टुर अपरेटर, कन्टेन्ट क्रियटर, सञ्चारकर्मी तथा पर्यटक सहभागी भएका थिए। भारतका रक्सौल, पटना, दरभंगा, सीतामढी, मुजफ्फरपुर, वाराणसी, अयोध्या र कोलकातालगायतका सहरबाट आएका सहभागीलाई मधेस प्रदेशका पर्यटकीय सम्भावनाबारे प्रत्यक्ष जानकारी गराइएको आयोजकले जनाएको छ।

नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछाने ले भारतीय पर्यटकको आगमन वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताउँदै बारा–पर्सासहित मधेसका आठवटै जिल्लाका पर्यटकीय गन्तव्यलाई भारतीय पर्यटन बजारसँग जोड्ने प्रयास गरिएको जानकारी दिए।

कार्यक्रमअन्तर्गत सहभागीहरूले गढीमाई मन्दिर, पर्सा राष्ट्रिय निकुञ्ज, तुलेश्वर महादेव मन्दिर तथा जनकपुरधाम का विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरूको अवलोकन गरेका थिए।

आयोजकका अनुसार मधेस ट्राभल मार्टले प्रदेशका पर्यटन गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्‍याउने तथा भारतीय पर्यटक भित्र्याउने अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.