महावाणिज्यदूत देवी सहाय मीनाको प्रमुख आतिथ्यमा परवानीपुरमा योग दिवस मनाइयो
बारा, असार ९ । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बारा जिल्लाको परवानीपुर गाउँपालिकामा विशेष योग शिविर कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
परवानीपुर गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा, गाउँपालिकाको सहयोग तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चैनपुरको सहकार्यमा विद्यालय परिसर स्थित मन्दिरको प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो। “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नागरिक आरोग्य सेवा केन्द्रकी प्रमुख वैद्य नीलमकुमारीको अध्यक्षता तथा भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीनाको प्रमुख आतिथ्यता रहेको थियो। परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष गम्भीरा राउत कुर्मी, प्रमुख प्रशासकीय अधिकृत मुन्ना शाह रौनियार, स्वास्थ्य शाखा प्रमुख मनिष मिश्रा, विद्यालयका प्रधानाध्यापक मदनप्रसाद कुर्मी, नेता बाबुराम कौशिक तथा रानीगञ्ज आयुर्वेद औषधालयका प्रमुख कविराज निरीक्षक धीरेन्द्रकुमार सिंहलगायत शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, स्थानीयवासी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
शिविरमा विभिन्न योगासन तथा योग अभ्यासबारे प्रशिक्षण दिइएको थियो। योग प्रशिक्षण वैद्य नीलमकुमारीले प्रदान गरेकी थिइन्। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न योगासनको प्रदर्शन गर्दै योगको महत्व र प्रभावकारिताबारे आकर्षक प्रस्तुति दिएका थिए।
विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले विद्यालय परिसर योगमय बनेको थियो। सहभागीहरूले सामूहिक रूपमा योग अभ्यास गर्दै स्वस्थ जीवनशैलीका लागि योग अपरिहार्य रहेको सन्देश दिएका थिए।
वक्ताहरूले नियमित योग अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै तनाव व्यवस्थापन, रोग प्रतिरोधात्मक क्षमता वृद्धि र दीर्घायु जीवनका लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिएका थिए।
योग दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मको उत्साहजनक सहभागिताले कार्यक्रमलाई प्रभावकारी तथा प्रेरणादायी बनाएको आयोजकले जनाएको छ।