ग्रीनसिटी सामुदायिक प्रहरीद्वारा ट्राफिक प्रमुख श्रेष्ठसँग परिचयात्मक कार्यक्रम सम्पन्न

58

वीरगञ्ज, असार १९ — ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर वीरगञ्जको आयोजनामा सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठसँग परिचयात्मक तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानंको अध्यक्षतामा आयोजित कार्यक्रममा हालै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुखको रूपमा जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरीक्षक श्रेष्ठलाई स्वागत तथा परिचय गराइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि रुङटा वेलफेयर सोसाइटीका अध्यक्ष तथा ग्रीनसिटी सामुदायिक प्रहरीका सल्लाहकार सुरेश रुङटा  रहेका थिए। कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

सहभागीहरूले ट्राफिक अनुशासन कायम गर्न नागरिक र प्रहरीबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। साथै, समुदायको सक्रिय सहभागिता मार्फत सुरक्षित, व्यवस्थित र अनुशासित ट्राफिक प्रणाली निर्माण गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सदस्य, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जयप्रकाश खेताले समुदाय र प्रहरीबीचको समन्वयले सुरक्षित र व्यवस्थित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। नवनियुक्त ट्राफिक प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय समुदाय, विभिन्न संघसंस्था तथा नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.