सशस्त्र प्रहरी बल पर्साद्वारा प्रतिबन्धित लागूऔषध सहित तीन जना पक्राउ, अवैध औषधिजन्य सामग्री बरामद

54

वीरगञ्ज, असार २३ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले छुट्टाछुट्टै कारवाहीको क्रममा प्रतिबन्धित लागूऔषध सहित तीन जनालाई पक्राउ गर्नुका साथै करिब पाँच लाख रुपैयाँ बराबरको अवैध औषधिजन्य सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरीका अनुसार असार २२ गते राति करिब १०ः३० बजे नं. १३ गण मुख्यालय पर्सा तथा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सा जाँच गर्ने क्रममा एक भारतीय महिलाले दुवै तिघ्रामा टेपले बाँधेर लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागूऔषध फेला पारेको हो।

बरामद लागूऔषधमा २०० एम्पुल डायजेपाम इन्जेक्सन, २०० एम्पुल प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन तथा २०० एम्पुल बुप्रेनोर्फिन इन्जेक्सन गरी कुल ६०० एम्पुल रहेका छन्। लागूऔषध बोकेकी भारतीय महिला, उनीसँग रहेका अन्य दुई जना तथा ई–रिक्सालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैबीच, असार २३ गते बिहान करिब ४ः३० बजे वीरगञ्ज महानगरपालिका–१ स्थित छपकैया सीमा क्षेत्रमा बीओपी सिर्सियाबाट खटिएको मोबाइल गस्ती टोलीलाई देखेर भारतबाट भन्सार छली गरी औषधिजन्य सामग्री ल्याउँदै गरेका दुई जना व्यक्ति सामान छाडेर फरार भएका थिए। घटनास्थलबाट करिब पाँच लाख रुपैयाँ बराबरका चार कार्टुन भिटामिन लगायत औषधिजन्य सामग्री बरामद गरिएको छ।

बरामद औषधिजन्य सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।

Leave A Reply

Your email address will not be published.