६४औँ इन्जिनियर्स डेको अवसरमा नेशनल मेडिकल कलेजको क्लिनिकल सहयोगमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
वीरगञ्ज, साउन ३
नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) वीरगञ्ज केन्द्रको आयोजनामा ६४औँ इन्जिनियर्स डेको अवसरमा मानसिक स्वास्थ्यसम्बन्धी स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम पर्साको वीरगञ्ज–१४ स्थित बीआईटी इन्जिनियरिङ कलेजमा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा आयोजना गरिएको हो।
नेपाल इन्जिनियर्स एशोसिएसन, वीरगञ्ज केन्द्रका अध्यक्ष इ. प्रियांशु कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एशोसिएसनका कोषाध्यक्ष इ. इकबाल हुसेनको समन्वय रहेको थियो। कार्यक्रममा इन्जिनियरिङ क्षेत्रका विद्यार्थी, प्राध्यापक, पेशाकर्मी तथा एशोसिएसनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नेशनल मेडिकल कलेज, वीरगञ्जका क्लिनिकल साइकोलोजिस्ट सन्देश सावन्तले मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, कार्य–जीवन सन्तुलन, मानसिक लचकता तथा आवश्यक पर्दा समयमै मनोवैज्ञानिक परामर्श लिनुपर्ने विषयमा सहजीकरण गरेका थिए। साथै सहभागीहरूसँग अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो।
सहभागीहरूले मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न जिज्ञासा राख्दै व्यक्तिगत तथा व्यावसायिक जीवनमा मानसिक स्वास्थ्यको महत्वबारे उपयोगी जानकारी प्राप्त गरेका थिए।
कार्यक्रममा नेशनल मेडिकल कलेज, वीरगञ्जले यस्ता स्वास्थ्य प्रवर्द्धन तथा समुदायमुखी कार्यक्रममार्फत मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जनाएको छ।