कप्तानगञ्ज हिंसामा प्रहरीको अनुसन्धान तीव्र, ६ जना पक्राउ

3

 

एआईबाट बनाइएको तस्बिर-

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काका अनुसार घटनामा उनीहरूको संलग्नता रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।

‘कप्तानगञ्ज घटनालाई लिएर ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,’ डीएसपी खड्काले भने, ‘पक्राउ परेकाहरूको घटनामा कस्तो भूमिका थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’

प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन। घटनाको प्रकृति, हिंसा भड्किनुको कारण तथा पक्राउ परेकाहरूको भूमिकाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।

कप्तानगञ्जमा केही समयअघि भएको विवादले हिंसात्मक रूप लिएपछि भएको घटनामा तीन जनाको मृत्यु भएको थियो भने करिब ४० जना घाइते भएका थिए। घटनापछि स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो।

प्रहरीले घटनासँग सम्बन्धित प्रमाण तथा तथ्य संकलन गर्नुका साथै प्रत्यक्षदर्शीसँग सोधपुछ र पक्राउ परेकाहरूसँग बयान लिने काम गरिरहेको जनाएको छ। अनुसन्धानका क्रममा थप व्यक्तिहरूको संलग्नता खुलेमा उनीहरूलाई समेत नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइने प्रहरीको भनाइ छ।

अनुसन्धानबाट दोषी देखिएकामाथि प्रचलित कानुनअनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.