एनवाइइएफ वीरगञ्ज च्याप्टरको युवा दिवस विशेष कार्यक्रम, लागुऔषध विरुद्ध अभियान

62

वीरगञ्ज, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता तथा नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम आयोजना गरेको छ।

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्ने मूल सन्देशसहित बुधबार वीरगञ्जमा युवा र्‍याली निकालिएको हो। एनवाइइएफ वीरगञ्ज च्याप्टर र सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको संयुक्त आयोजनामा निकालिएको र्‍याली माइस्थान चोक स्थित गहवा माई मन्दिर अगाडिबाट सुरु भएको थियो।

र्‍याली गीतामन्दिर, घडिअर्वा पोखरी हुँदै मुख्य सडकबाट सरोवर पोर्टिको होटलमा पुगेर सम्पन्न भएको थियो। र्‍यालीमा सहभागी युवाले विभिन्न जनचेतनामूलक प्लेकार्ड बोकेका थिए।

र्‍यालीले युवालाई लागुऔषधको दुर्व्यसनबाट टाढा रहँदै सकारात्मक सोच, शिक्षा, सिर्जनशीलता र भविष्य निर्माणतर्फ अग्रसर हुन आह्वान गरेको थियो।

र्‍यालीपछि सरोवर पोर्टिको होटलमा आयोजित मुख्य कार्यक्रम एनवाइइएफ वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंहको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनिष झा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा वीरगञ्ज पब्लिक कलेजका डा. बासु कर्ण, डा. अरविन्द श्रेष्ठ, डा. नीरज सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं उद्योगपति गणेश लाठ, डा. सुबोध गुप्ता, युवा नेता सुधीर पटेल, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवराज पाल, भारतीय दूतावास वीरगञ्जका मनिष सिंह, एनवाइइएफका कार्यकारी सदस्य पवित्रा गौतम, होप गिभर नेपालका संस्थापक रोमन गुरुङ तथा नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाईंलगायतको उपस्थिति थियो।

त्यस्तै, सनलाइट कलेज, ममता विद्या मन्दिर, वीरगञ्ज पब्लिक कलेज, ब्राइट प्लस टु कलेज, बीपीएस कलेज लगायत विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा युवाको नेतृत्व विकास, उद्यमशीलता, सिर्जनशीलता तथा नवप्रवर्तनका विषयमा वक्ताहरूले धारणा राखेका थिए। युवालाई सामाजिक क्षेत्रमा सक्रिय बनाउँदै सकारात्मक परिवर्तनका संवाहकका रूपमा अघि बढाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

यस अवसरमा आयोजित सामग्री सिर्जनाकर्ता प्रतियोगिता–२०२६ मा पाँच जना सहभागीमध्ये कन्हैया सराफ विजेता बने। विजेता सराफलाई नगद ५ हजार १ सय रुपैयाँ, मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार कार्यक्रमले वीरगञ्जका युवालाई लागुऔषधविरुद्धको सचेतना, सामाजिक जिम्मेवारी, नेतृत्व, उद्यमशीलता तथा सिर्जनात्मक गतिविधिसँग जोड्दै सकारात्मक सन्देश प्रवाह गरेको छ।

कार्यक्रमको सञ्चालन सूर्यनारायण विकले गरेका थिए।

Leave A Reply

Your email address will not be published.