वीरगञ्जमा दैनिक ८०–१०० युनिट रगत आवश्यक, रक्तदान गर्न रेडक्रसको आग्रह

61

वीरगञ्ज, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाले बुधबार वीरगञ्ज स्थित रक्त सञ्चार केन्द्र परिसरमा रक्तदान तथा सरसफाइ कार्यक्रम आयोजना गरेको छ।

रेडक्रस पर्सा शाखाको भवन तथा रक्त सञ्चार केन्द्र परिसरमा सरसफाइ गर्नुका साथै रक्तदान कार्यक्रम आयोजना गरिएको हो। युवालाई सामाजिक तथा मानवीय सेवामा सक्रिय सहभागी गराउने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका सभापति बृजकिशोर पटेलले स्वयं रक्तदान गरेर गरेका थिए।

रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेका अनुसार ३० जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा बृजकिशोर पटेलसहित अमित साह, राधेकृष्ण पाण्डे, ओमकुमार पटेल, तीर्थराज साह, मनिष सिंह लगायत रहेका छन्।

पाण्डेका अनुसार हाल वीरगञ्जमा दैनिक औसत ८० देखि १०० युनिटसम्म रगत आवश्यक पर्ने गरेको छ। बिरामीको उपचारका लागि रगतको माग उच्च रहेकाले रक्त सञ्चार केन्द्रमा पर्याप्त मौज्दात कायम राख्न विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरिएको उनले बताए।

उनले विशेषगरी युवाहरूलाई रक्तदानमा सक्रिय सहभागी हुन आग्रह गर्दै रक्तदानबाट संकलित रगतले आकस्मिक अवस्था, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका बिरामीलाई उपचारमा सहयोग पुग्ने बताए।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित रक्तदान तथा सरसफाइ कार्यक्रमले युवाको सामाजिक उत्तरदायित्व र समुदाय प्रतिको योगदानलाई व्यवहारमा उतार्न सहयोग पुर्‍याएको आयोजकले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले आगामी दिनमा पनि मानवीय सेवा, सामाजिक सचेतना, सरसफाइ तथा रक्तदान सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.