नेशनल मेडिकल कलेजको सहयोगमा सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष सुरु
सिमरा । सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष सञ्चालनमा आएको छ। नेशनल मेडिकल कलेज वीरगञ्जको सहयोगमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षको कलेजका अध्यक्ष प्रो. डा. जैनुदिन अंसारीले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।
सरकारले अघि सारेको १०० दिने विकास कार्यक्रमअन्तर्गत देशका विमानस्थलमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य जाँच कक्ष स्थापना गर्ने कार्यक्रमअनुसार सिमरा विमानस्थलमा पनि सेवा सुरु गरिएको हो।
सुरुआती चरणमा स्वास्थ्य सहायता कक्ष बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिने नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनावाज अंसारीले जानकारी दिए। सेवाग्राहीको चाप र आवश्यकताअनुसार आगामी दिनमा सञ्चालन समय थप गर्न सकिने उनले बताए।
सिमरा विमानस्थलका कार्यकारी प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार स्वास्थ्य सहायता कक्षबाट विमानस्थलमा कार्यरत कर्मचारी, यात्रु, सरसफाइ कर्मचारी तथा सुरक्षाकर्मीलगायतलाई आकस्मिक स्वास्थ्य जाँच र प्राथमिक उपचार सेवा उपलब्ध गराइनेछ।
कक्षमा नेशनल मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले नियमित रूपमा सेवा प्रदान गर्नेछ। आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार उपलब्ध गराउनुका साथै आवश्यक परे थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने व्यवस्था मिलाइएको जनाइएको छ।
विमानस्थल परिसरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध भएपछि यात्रु तथा कर्मचारीलाई आकस्मिक स्वास्थ्य समस्या पर्दा तत्काल स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्श लिन सहज हुने अपेक्षा गरिएको छ। विमानस्थल प्रशासन र नेशनल मेडिकल कलेजको सहकार्यमा सुरु गरिएको स्वास्थ्य सहायता कक्षलाई आवश्यकता र प्रभावकारिताका आधारमा आगामी दिनमा थप व्यवस्थित गर्दै लैजाने तयारी गरिएको जनाइएको छ।