डी.ए.भी आर.बी केडियाले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा डीपीएसकी सान्वी झा प्रथम, सिमराकी प्रिस्किना द्वितीय, गौतमकी सुफियाना तृतीय
वीरगञ्ज, ५ भदौ आनन्द पटेल । डी.ए.भी. आर.बी. केडिया स्कुलको आयोजनामा ‘वाग्मिता–रत्नम्’ प्रथम संस्करण अन्तरविद्यालय नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। ‘विदेश पलायन कि स्वदेशमै सम्भावना ?’ विषयमा आयोजित प्रतियोगितामा दिल्ली पब्लिक सेकेण्डरी स्कुलमा कक्षा १० मा अध्ययनरत सान्वी झा प्रथम भएकी छन्।
प्रतियोगितामा सिमरा पब्लिक सेकेण्डरी स्कुलकी प्रिस्किना चौधरी द्वितीय, गौतम माध्यमिक विद्यालयकी सुफियाना खातुन तृतीय, ज्ञानदा एकेडेमीकी प्राथना अधिकारी चौथो तथा नेपाल कावेरी माध्यमिक विद्यालयकी श्रेया गुप्ता पाँचौँ स्थान प्राप्त गर्न सफल भएकी छिन ।
प्रतियोगितामा लिटल फ्लावर सेकेण्डरी स्कुल, दिल्ली पब्लिक स्कुल, मास्कोट एकेडेमी, नेपाल कावेरी एकेडेमी, सिमरा पब्लिक इङ्लिस स्कुल, गौतम सेकेण्डरी स्कुल, ज्ञानदा एकेडेमी, कादम्बरी एकेडेमी र डी.ए.भी. आर.बी. केडिया स्कुलगरी ९ वटा स्कुलका विर्धाीहरु सहभागी भएका थिए।

लिटल फ्लावरबाट आन्वी राई र अनुष्का न्यौपाने, दिल्ली पब्लिक स्कुलबाट सान्वी मानन्धर र सान्वी झा , मास्कोट एकेडेमीबाट शिक्षा लामा र निकिता साह, नेपाल कावेरी एकेडेमीबाट ऋषिका शाह र श्रेया गुप्ता तथा सिमरा पब्लिक इङ्लिस स्कुलबाट शिक्षा ठाकुर र प्रिस्किना चौधरी सहभागी भएका थिए।
त्यसैगरी गौतम सेकेण्डरी स्कुलबाट रिजान चापागाइँ र सुफियाना खातुन, ज्ञानदा एकेडेमीबाट शिवम गुप्ता र प्राथना अधिकारी, कादम्बरी एकेडेमीबाट बालकृष्ण ठाकुर, सदिक्षा चौरसिया तथा आयोजक डी.ए.भी. आर.बी. केडिया स्कुलबाट वैभव यादव र सान्वी गुप्ता प्रतियोगितामा सहभागी भएका थिए।
आयोजक विद्यालयका विद्यार्थीको प्राप्ताङ्क भने प्रतियोगिताको अन्तिम मूल्याङ्कनमा समावेश नगरिएको विद्यालयले जनाएको छ। सहभागी विद्यार्थीहरूले ‘विदेश पलायन कि स्वदेशमै सम्भावना ?’ विषयमा आफ्नो धारणा तथा विचार वक्तृत्वकलामार्फत प्रस्तुत गरेका थिए।
कार्यक्रमको उद्घाटन उद्योग वाणिज्य संघ मधेश प्रदेशका पूर्वअध्यक्ष तथा समाजसेवी गणेश लाठले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटनपछि बोल्दै लाठले विद्यार्थीहरूको प्रस्तुति सुन्दा आफूलाई बाल्यकालको समय सम्झना भएको बताए।
उनले विद्यार्थीहरूलाई कुनै डर वा संकोच नराखी खुलेर आफ्ना विचार प्रस्तुत गर्न आग्रह गरे। प्रतियोगितामा विजेता बन्नु मात्र ठूलो कुरा नभएको भन्दै उनले सार्वजनिक रूपमा उभिएर आफ्नो विचार प्रस्तुत गर्न सिक्नु नै महत्वपूर्ण उपलब्धि भएको बताए।
‘यहाँ तपाईंहरूको राम्रो–नराम्रो पक्षको मूल्याङ्कन मात्र हुँदैन, आफूलाई प्रस्तुत गर्न सिक्ने अवसर पनि हो,’ उनले विद्यार्थीहरूलाई हौसला दिँदै भने। उनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास र प्रस्तुति क्षमताको विकासमा सहयोग पुग्ने बताए।
कार्यक्रम डी.ए.भी. आर.बी. केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष मिश्रले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूमा बोल्ने कला, आत्मविश्वास तथा आफ्नो प्रतिभा प्रस्तुत गर्ने क्षमताको विकास गर्ने बताए।

उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका, डी.ए.भी. स्कुलको सम्पूर्ण टिम, प्रमुख अतिथि, विशिष्ट अतिथि, सञ्चारकर्मी तथा सहभागी विद्यालयका प्रतिनिधिलाई धन्यवाद व्यक्त गरे। विजेता विद्यार्थीहरूलाई बधाई दिँदै उनले आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिलाई निरन्तरता दिने बताए।
प्रतियोगितामा सफलता हासिल गर्न नसकेका विद्यार्थीलाई निराश नभई थप मेहनत गर्न र आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तर सहभागी हुन उनले आग्रह गरे।
कार्यक्रमकी विशिष्ट अतिथि रोशनी श्रीवास्तवले निजी विद्यालयका विद्यार्थीहरूले नेपाली विषयमा गरेको उत्कृष्ट प्रस्तुति देखेर आफूलाई गर्व लागेको बताइन्। निजी विद्यालयका विद्यार्थी नेपाली विषयमा कमजोर हुन्छन् भन्ने आमधारणालाई यस्ता कार्यक्रमले गलत साबित गर्ने भन्दै उनले नेपाली भाषा, ज्ञान, सीप र कलाको विकासका लागि यस्ता प्रतियोगिता निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिइन्।
उनले प्रतियोगिता आयोजना गरेकोमा डी.ए.भी. आर.बी. केडिया स्कुलको प्रशंसा गर्दै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनका लागि विद्यालयले गरेको प्रयास सकारात्मक रहेको बताइन्।

निर्णायक मण्डलका सदस्य प्राध्यापक प्रकाश पराजुली र हरि प्याकुरेलले सहभागी विद्यार्थीहरूको प्रस्तुति प्रशंसनीय रहेको बताउँदै वक्तृत्वकलामा अझ सुधारका लागि विभिन्न सुझाव दिएका थिए। वहाहरुले विद्यार्थीहरूलाई विषयवस्तुको गहिरो अध्ययन, स्पष्ट उच्चारण, प्रभावकारी प्रस्तुति, आत्मविश्वास तथा समय व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे। साथै, नियमित अभ्यास र यस्ता प्रतियोगितामा निरन्तर सहभागिताले विद्यार्थीहरूको बोल्ने कला तथा व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए।
कार्यक्रममा विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र, शिल्ड तथा मायाको चिनो प्रदान गरिएको थियो। त्यसैगरी प्रतियोगितामा सहभागी विद्यार्थीहरूका विद्यालय तथा शिक्षकहरूलाई सहभागिताको प्रमाणपत्र सहित मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूलाई समेत आयोजक विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन डी.ए.भी. आर.बी. केडिया स्कुलकी शिक्षिका प्रविणा राजभण्डारी, कक्षा ८ मा अध्ययनरत साइशा यादव र कक्षा १० मा अध्ययनरत सिद्धि सिंहले गरेका थिए।