सशस्त्र प्रहरीद्वारा ३ हजार प्रतिबन्धित कुखुराका चल्ला सहित ८ लाख भन्दा बढीको सामान बरामद

37

वीरगञ्ज, ५ भदौ । सशस्त्र प्रहरी बल पर्साले सीमा क्षेत्रमा भन्सार छली गरी ओसारपसार हुँदै गरेका प्रतिबन्धित कुखुराका चल्ला, मदिरा, कपडा, किराना सामान तथा मोटरसाइकल गरी ८ लाख ५ हजार ९ सय रुपैयाँ बराबरका सामान तथा सवारीसाधन नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा मातहतका बीओपी प्रसौनीभाठा, सुरक्षा बेस पोखरिया, बीओपी ब्रह्मनगर र सीमा सुरक्षा गुल्म हेडक्वार्टर अलौबाट खटिएको टोलीले जिल्लाका विभिन्न सीमा क्षेत्रमा चेकजाँच तथा गस्ती गर्ने क्रममा ती सामान नियन्त्रणमा लिएको हो।

बीओपी प्रसौनीभाठा र सुरक्षा बेस पोखरियाबाट खटिएको संयुक्त टोलीले विन्दवासिनी गाउँपालिका–४ कुकैयास्थित सीमा क्षेत्रबाट ३ लाख रुपैयाँ बराबरका ३० कार्टुनमा रहेका ३ हजार गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्लासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार तथा नेपाल प्रहरीको रोहबरमा बरामद चल्लाहरू नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

त्यसैगरी, बीओपी ब्रह्मनगरबाट खटिएको टोलीले सीमा क्षेत्रबाट नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १ लाख ५४ हजार ९ सय रुपैयाँ बराबरको मदिरा तथा मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्ति तथा सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी, सीमा सुरक्षा गुल्म हेडक्वार्टर अलौबाट खटिएको मोबाइल तथा मोटरसाइकल गस्ती टोलीले बौधिमाई नगरपालिका–९ विश्रामपुर लगायतका सीमा क्षेत्रबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको ३ लाख ५१ हजार रुपैयाँ बराबरको कपडा, मोटरसाइकल तथा विभिन्न किराना सामान नियन्त्रणमा लिएको छ।

बरामद सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अवैध रूपमा हुने चोरी–पैठारी तथा भन्सार छली नियन्त्रणका लागि चेकजाँच र गस्तीलाई निरन्तरता दिइरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.