रोयल किड्स मन्टेश्वरीको रक्षाबन्धन प्रतियोगितामा सपना चौरसिया प्रथम, मधु शाह द्वितीय, विनिता दास र सुनैना चौरसिया तृतीय

42

वीरगञ्ज, ५ भदौ । वीरगञ्ज महानगरपालिका–१० अशोक बाटिकास्थित रोयल किड्स मन्टेश्वरी एण्ड डे–केयर सेन्टरमा रक्षाबन्धनको अवसरमा अभिभावकबीच रक्षाबन्धन बनाउने प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सपना चौरसिया प्रथम भएकी छन्।

विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरूबीच आयोजित प्रतियोगितामा सहभागीहरूले आकर्षक तथा कलात्मक रक्षाबन्धन तयार गरी आफ्नो सिर्जनशीलता प्रस्तुत गरेका थिए। प्रतियोगितामा उत्कृष्ट रक्षाबन्धन तयार गर्ने अभिभावक छनोट गर्न निर्णायक मण्डललाई समेत कठिन भएको थियो।

प्रतियोगिताको अन्तिम नतिजाअनुसार सपना चौरसिया प्रथम, मधु शाह द्वितीय, विनिता दास र सुनैना चौरसिया तृतीय तथा मञ्जु गुप्ता र ऋषिका दास चौथो भएका छन्।

प्रतियोगिता रोयल किड्स मन्टेश्वरी एण्ड डे–केयर सेन्टरकी प्रिन्सिपल रुचिका श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै उनले रक्षाबन्धन जस्तो सांस्कृतिक पर्वलाई सिर्जनात्मक गतिविधिसँग जोडेर अभिभावकको सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्।

उनले अभिभावकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको बताउँदै विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।

प्रतियोगितामा विजयी अभिभावकहरूलाई प्रिन्सिपल रुचिका श्रीवास्तवले प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेकी थिइन्। प्रतियोगितामा सहभागी सम्पूर्ण अभिभावकलाई समेत सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यालयका शिक्षिकाहरू सोनी रौनियार, खुुस्बु सर्राफ, आरती गुप्ता, प्रियंका रौनियार, इन्दीती पाण्डे र श्रुती सर्राफलगायत अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगिताले अभिभावकहरूमा रहेको सिर्जनात्मक क्षमता उजागर गर्नुका साथै रक्षाबन्धन पर्वको सांस्कृतिक महत्वलाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग पुगेको विद्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.