माउन्ट मकालुमा विद्यार्थीको सिर्जनशीलता झल्कियो, राखी निर्माण प्रतियोगिता सम्पन्न अन्तर
वीरगञ्ज, पर्सा। वीरगञ्ज महानगरपालिका–१०, अशोकवाटिकास्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलमा रक्षाबन्धन पर्वको अवसरमा अन्तर सदन राखी निर्माण प्रतियोगिता सम्पन्न भएको छ।
विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित प्रतियोगितामा कक्षा ५ देखि ८ सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यार्थीहरूमा रहेको सिर्जनात्मक तथा कलात्मक प्रतिभाको पहिचान र विकास गर्नुका साथै नेपाली धर्म, संस्कृति, परम्परा तथा रक्षाबन्धन पर्वको महत्वबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न सामग्रीको प्रयोग गरी आकर्षक, मौलिक तथा कलात्मक राखी निर्माण गरेका थिए। विभिन्न सदनबीच स्वस्थ प्रतिस्पर्धा देखिएको प्रतियोगिताले विद्यालय परिसरलाई सांस्कृतिक तथा उत्साहपूर्ण बनाएको थियो।
विद्यालयका निर्देशक कामेश्वर प्रसाद श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक राहुल श्रीवास्तव विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा उपप्रधानाध्यापक रेखा जैसी, अम्बिका केसी, अम्बिका श्रेष्ठलगायत शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो।
प्रतियोगितामा विद्यार्थीहरूले राखीको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी लिनुका साथै आफ्नो कला, सिर्जनशीलता र कल्पनाशक्ति प्रदर्शन गर्ने अवसर पाएका थिए। राखीको कलात्मकता, मौलिकता, प्रस्तुति, सामग्रीको प्रयोग तथा सिर्जनशीलताका आधारमा मूल्याङ्कन गरिएको थियो।
कार्यक्रमको सञ्चालन तथा समन्वय प्रिया सिंह र सुमन शाहले गरेका थिए। उनीहरूले विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन गर्दै प्रतियोगितालाई व्यवस्थित रूपमा सम्पन्न गराएका थिए।
प्रतियोगिताको नतिजा आगामी सोमबार, मिति २०८३/०५/०८ गते घोषणा गरिने विद्यालय प्रशासनले जनाएको छ। विद्यालयले विद्यार्थीहरूको चौतर्फी विकासका लागि पठनपाठनसँगै सांस्कृतिक, सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापलाई निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ।