श्याम बञ्जाराले बुझाए अर्थमन्त्रीलाई ज्ञापनपत्र, सञ्चार क्षेत्रको बजेट कटौती रोक्न माग

53

वीरगञ्ज, असोज १३ ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशले प्रदेश सरकारले सञ्चारमाध्यमका लागि विनियोजन गरेको बजेट कटौती नगर्न माग गरेको छ।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै चालु आर्थिक वर्षमा आमसञ्चार प्राधिकरण अन्तर्गत लोक कल्याणकारी विज्ञापनका लागि विनियोजित बजेट यथावत् राख्न माग गरेको हो।

चालु आर्थिक वर्षको बजेट शीर्षक नम्बर २२३२३ अन्तर्गत लोक कल्याणकारी विज्ञापनका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर, वित्तीय समायोजनका नाममा उक्त बजेटको ५० प्रतिशत रोकिएपछि सञ्चारमाध्यमका लागि ३५ लाख रुपैयाँ मात्र उपलब्ध हुने अवस्था आएको महासंघले जनाएको छ।

महासंघका अनुसार विज्ञापन बजारमा आएको कमीका कारण पछिल्लो समय सञ्चारमाध्यमहरू आर्थिक संकटमा परेका छन्। आर्थिक संकटकै कारण कतिपय पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यम बन्द भइसकेका छन् भने केही बन्द हुने अवस्थामा पुगेका छन्।

लोकतन्त्र, गणतन्त्र र संघीयता लगायतका राजनीतिक परिवर्तनका आन्दोलनमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै महासंघले सञ्चार क्षेत्रलाई थप संकटमा पर्न नदिन प्रदेश सरकारले विनियोजित बजेट कटौती रोक्नुपर्ने माग गरेको छ।

त्यस्तै, पत्रकारिता क्षेत्रको समयानुकूल विकास तथा संस्थागत सुदृढीकरणका लागि स्थापना भएका मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरणलाई थप प्रभावकारी बनाउन विनियोजित बजेट कटौती नगरी आवश्यकताअनुसार थप बजेट व्यवस्था गर्नसमेत महासंघले माग गरेको छ।

अध्यक्ष बञ्जाराले सञ्चार क्षेत्रको संस्थागत विकास र सञ्चारमाध्यमको निरन्तरताका लागि प्रदेश सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउँदै अर्थ मन्त्री समक्ष ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझाउने क्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, मधेस प्रदेशका सचिव शैलेन्द्र क्रान्ति लगायत पदाधिकारीहरूको उपस्थिति थियो।

Leave A Reply

Your email address will not be published.