रानीघाटमा २७औँ खुला रक्तदान, ४ महिला सहित ५२ जनाले गरे रक्तदान
वीरगञ्ज, १७ असोज ।
वीरगञ्ज महानगरपालिका–९ स्थित ब्लड डोनेशन चौक, रानीघाटमा २७औँ पटक खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
दुर्गा पूजा सेवा समिति रानीघाटको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाको सहयोगमा आयोजित कार्यक्रममा ४ महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।
कार्यक्रम वडा नम्बर ९ का अध्यक्ष जवाहर गुप्ताको प्रमुख आतिथ्य तथा दुर्गा पूजा सेवा समिति रानीघाटका अध्यक्ष शतिस सिंह राजपुतको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कार्यसमिति सदस्य दिनानाथ रौनियार, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पत्रकार वीरेन्द्र साहले गरेका थिए।
रक्तदान कार्यक्रममा नियमित रक्तदाता, स्थानीय युवा, समाजसेवी तथा विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
रक्तदान गर्नेहरूमा क्रियासिल युवा पत्रकार मञ्चका महासचिव राकेश साह, शतिस सिंह राजपुत, निरञ्जन प्रसाद, रामनरेश यादव, दीपक साह, अनिलकुमार चौरसिया, सजाद हवारी, कुलसरीक हवारी, कलामत मियाँ लगायत रहेका थिए।
आयोजक दुर्गा पूजा सेवा समिति रानीघाटले मानवीय सेवाको उद्देश्यले नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले आपत्कालीन अवस्थामा रगतको अभाव कम गर्न रक्तदान महत्वपूर्ण हुने भएकाले स्वस्थ व्यक्तिलाई नियमित रक्तदान गर्न आग्रह गरेका छन्।