वीरगञ्ज–५ मा नयाँ खानेपानी बोरिङ जडान, स्थानीयवासीलाई राहत

10

वीरगञ्ज, २१ असोज ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ मा खानेपानीको समस्या समाधान गर्न नयाँ बोरिङ जडान गरिएको छ। स्थानीयवासीको गुनासो तथा मागलाई सम्बोधन गर्दै वडा अध्यक्ष प्रदीप चौरसियाको पहलमा नयाँ स्थानमा बोरिङ जडान गरिएको हो।

यसअघि प्रदेश सरकारबाट प्राप्त बजेटमार्फत वडा नम्बर ५ मा खानेपानीका लागि बोरिङ जडान गरिएको भए पनि त्यसबाट सीमित रूपमा दुई–तीन घरधुरीले मात्रै पानी प्रयोग गर्दै आएका थिए। अधिकांश स्थानीयवासी भने खानेपानीको समस्याबाट प्रभावित हुँदै आएका थिए।

दैनिक उपभोगका लागि पानी जुटाउन समेत समस्या भइरहेको भन्दै स्थानीयवासीले वडा अध्यक्ष चौरसियासमक्ष गुनासो गरेपछि उनले स्थानीयको माग र आवश्यकतालाई प्राथमिकतामा राख्दै नयाँ स्थानमा बोरिङ जडानका लागि पहल गरेका हुन्।

नयाँ बोरिङ सञ्चालनमा आएपछि खानेपानीको समस्या झेल्दै आएका धेरै घरधुरी लाभान्वित हुने अपेक्षा गरिएको छ। बोरिङबाट धेरै घरधुरीमा पानी पुग्ने भएपछि स्थानीयवासीले वडा अध्यक्ष चौरसियालाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन्।

स्थानीयवासीले आफूहरूको वास्तविक समस्या सुनेर तत्काल पहल गरेको भन्दै वडा अध्यक्षको प्रशंसा गरेका छन्। खानेपानीजस्तो आधारभूत आवश्यकताको समस्या समाधानका लागि गरिएको पहलले दैनिक जीवनमा सहजता ल्याउने उनीहरूको भनाइ छ।

वडा अध्यक्ष चौरसियाले स्थानीयवासीका आधारभूत आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर वडा तहबाट गर्न सकिने पहल निरन्तर अघि बढाइने बताए। उनले खानेपानीसँगै सरसफाइ, सडक तथा अन्य आवश्यक पूर्वाधारका क्षेत्रमा समेत स्थानीयको माग र आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.