वीरगञ्ज सहित पर्सा–बाराका ४ पालिकामा नगर बस चलाउने तयारी, १ करोडको कोष स्थापना

90

 

तस्बिर : एआई

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकासहित पर्सा र बाराका चारवटा स्थानीय तहमा एकीकृत सार्वजनिक यातायात सेवा (नगर बस) सञ्चालन गर्ने तयारी अघि बढाइएको छ।

वीरगञ्ज महानगरपालिका, बाराको जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र परवानीपुर गाउँपालिकालाई जोडेर नगर बस सेवा सञ्चालन गर्न लागिएको हो।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अध्यक्षतामा बिहीबार बसेको अन्तरपालिका बैठकले आगामी मंसिरभित्रै नगर बस सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ।

बैठकले नगर बस सेवालाई दिगो र व्यवस्थित बनाउन चारवटै पालिकाको सहभागितामा १ करोड रुपैयाँको एकीकृत सञ्चालन कोष स्थापना गर्ने निर्णय समेत गरेको छ। कोषमा वीरगञ्ज महानगरपालिकाले ४० लाख, जीतपुरसिमरा उपमहानगरपालिकाले ३० लाख, कलैया उपमहानगरपालिकाले २५ लाख र परवानीपुर गाउँपालिकाले ५ लाख रुपैयाँ जम्मा गर्नेछन्।

यस अघि गत कात्तिक १२ गते बसेको बैठकले एकीकृत यातायात सेवा सञ्चालनको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि चारवटै पालिकाका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरेको थियो। बिहीबारको बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन आवश्यक संशोधनसहित पारित गरेको छ।

नगर बस सञ्चालन सम्बन्धी कार्यविधि तयार पार्ने जिम्मेवारी पनि सोही कार्यदललाई दिइएको छ। कार्यदलले मंसिर ७ गतेभित्र कार्यविधि तयार गरी पेस गर्नुपर्नेछ।

वीरगञ्ज महानगरपालिकाका राजस्व प्रशासन महाशाखा प्रमुख डा. सुनिल आचार्यको संयोजकत्वमा गठित कार्यदलमा जीतपुरसिमरा उपमहानगरपालिकाका लेखापाल हरिशंकर प्रसाद कुर्मी, कलैया उपमहानगरपालिकाका अजय उप्रेती र परवानीपुर गाउँपालिकाका कृष्णकुमार यादव सदस्य रहेका छन्।

चारवटै पालिकालाई एकीकृत सार्वजनिक यातायात सञ्जालमा जोड्ने योजना अन्तर्गत यो पहल अघि बढाइएको हो। सहायक सडक तथा ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै अन्तरपालिका आवागमन सहज बनाउनु यसको मुख्य उद्देश्य रहेको छ।

नगर बस सेवा सञ्चालनमा आएपछि मुख्य सडकबाट टाढा रहेका ग्रामीण क्षेत्रका नागरिकलाई बजार, अस्पताल, शैक्षिक संस्था तथा सरकारी कार्यालयसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। साथै, निजी सवारीमा निर्भर हुनुपर्ने र गन्तव्यमा पुग्न पटक–पटक सवारीसाधन परिवर्तन गर्नुपर्ने बाध्यता पनि कम हुने विश्वास गरिएको छ।

बैठकमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन दाहाल, कलैया उपमहानगरपालिकाका प्रतिनिधि अजय उप्रेती, वीरगञ्ज महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख किर्तिराज सुवेदी लगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.