नेशनल मेडिकल कलेजमा विद्यार्थी–शिक्षकको सहभागितामा च्यारिटेबल फेस्ट भव्यतापूर्वक सम्पन्न
वीरगञ्ज, असोज ७।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा “Charitable Cultural Fest & Award Affiliation Ceremony” भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
समाजसेवा, सिर्जनात्मकता र नेतृत्वतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, शिक्षक तथा प्रशासनिक निकायको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. जैनुदिन अन्सारी (अध्यक्ष, नेशनल मेडिकल कलेज) तथा विशिष्ट अतिथि शहनवाज अन्सारी (प्रबन्ध निर्देशक, नेशनल मेडिकल कलेज) उपस्थित थिए। कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. के. एन. सिंहले अध्यक्षता गरेका थिए।
यस अवसरमा शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यास्मिन, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिङ निर्देशक आबिद हुसेन अन्सारी, नेशनल मेडिकल कलेज च्यारिटेबल सोसाइटीका अध्यक्ष डा. रबीशंकर गुप्ता (उप-प्रिन्सिपल), नर्सिङ निर्देशक, उप-प्रिन्सिपल नर्सिङ, संकायका प्राध्यापक तथा विद्यार्थीहरूको सहभागिताले कार्यक्रमलाई थप भव्य बनाएको थियो।
कार्यक्रममा स्वागत नृत्य, विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुति, भाषण, च्यारिटेबल सोसाइटी तथा नेपाल हेल्थ कोर्प्सको वार्षिक प्रतिवेदन प्रस्तुतिकरण, पुरस्कार वितरण र चेक हस्तान्तरण जस्ता विविध गतिविधिहरू सम्पन्न भए।
आयोजकका अनुसार कार्यक्रममा विद्यार्थीबीचको सहकार्य मजबुत बनाउने, सामाजिक उत्तरदायित्वप्रति सचेतना जगाउने, नेतृत्व क्षमताको विकास गर्ने र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य पूरा भएको छ।
नेशनल मेडिकल कलेज च्यारिटेबल सोसाइटीले विगतदेखि नै निःशुल्क स्वास्थ्य शिविर, बृक्षारोपण, रक्तदान, कपडा वितरण, जनचेतना कार्यक्रम, खेलकुद र सांस्कृतिक गतिविधि लगायतका सामाजिक सेवामूलक कार्य गर्दै आएको छ।
कलेजले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत “Beyond Medicine, Towards Humanity” को सन्देशलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।