नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर, ३१२ जनाले सेवा लिए

52

वीरगन्ज, पुस १२

नेशनल मेडिकल कलेज, वीरगन्ज तथा प्रिस्टिन भ्याली ड्राइपोर्ट, वीरगन्जको संयुक्त आयोजनामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविर बिहान १० बजेदेखि सञ्चालन गरिएको थियो। शिविरमार्फत सर्वसाधारण नागरिकहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकद्वारा परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो। आयोजकका अनुसार शिविरबाट जम्मा ३१२ जना नागरिक लाभान्वित भएका छन्।

शिविरको मुख्य उद्देश्य मधुमेहलगायत दीर्घकालीन तथा सामान्य रोगहरूको प्रारम्भिक पहिचान, उपचार परामर्श तथा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु रहेको जनाइएको छ। शिविरमा रक्तचाप, रगतमा चिनीको मात्रा, तौल, उचाइलगायत प्रारम्भिक स्वास्थ्य परीक्षणपछि सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकद्वारा परामर्श सेवा प्रदान गरिएको थियो।

सेवाको सहज व्यवस्थापनका लागि दर्ता, प्रारम्भिक परीक्षण तथा चिकित्सक परामर्शका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको थियो।

कार्यक्रममा प्रिस्टिन भ्याली ड्राइपोर्टतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव मोहन झा, दिगोपन विभाग प्रमुख सुवजित नायक तथा आयात–निर्यात विभाग प्रतिनिधि राहुल पटेलको उपस्थिति रहेको थियो।

त्यसैगरी नेशनल मेडिकल कलेजतर्फबाट प्रमुख सूचना अधिकृत इञ्जिनियर प्रदीप कुमार चौधरी, मार्केटिङ प्रबन्धक जितेश चन्द्र दास तथा विद्यार्थी क्लब अध्यक्ष डा. प्रशान्त भण्डारी सहभागी हुनुहुन्थ्यो।

चिकित्सकीय सेवामा जेनरल फिजिसियन डा. सुधाकर झा तथा स्त्रीरोग विशेषज्ञ डा. मधु साहले प्रत्यक्ष रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो।

कार्यक्रममा वक्ताहरूले समुदायस्तरमै स्वास्थ्य सेवा पुर्‍याउनु प्रारम्भिक रोग पहिचान, जनस्वास्थ्य प्रवर्द्धन तथा आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। स्थानीयवासीहरूले यस्ता उपयोगी स्वास्थ्य शिविर आयोजना गरिएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन्।

आयोजकका अनुसार निःशुल्क स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै सर्वसाधारणको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

Leave A Reply

Your email address will not be published.