सुवर्णपुरबाट मानसिक अवस्था कमजोर भएका एक पुरुषको उद्धार
वीरगञ्ज ।
मानवसेवा आश्रम वीरगञ्ज शाखाले पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर–५ स्थित सुवर्णपुर चोकबाट मानसिक अवस्था कमजोर भएका अन्दाजी ३० वर्षका एक पुरुषको उद्धार गरेको छ।
२०८२ साल माघ २७ गते मंगलबार दिउँसो करिब २:३० बजे उद्धार गरिएका ती पुरुषले आफ्नो नामथर स्पष्ट रूपमा बताउन नसक्ने अवस्था रहेको मानवसेवा आश्रमले जनाएको छ। उद्धारपछि उनलाई आश्रममा ल्याई सुरक्षित रूपमा राखिएको छ।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमकी संयोजक मुना मगर, अभिभावक प्रकाश थारु, ठोरी गाउँपालिका वडा नम्बर–५ का वडा अध्यक्ष अस्ट बहादुर लोप्चन तथा प्रहरी चौकी सुवर्णपुरका प्रहरी वरिष्ठ हवलदार विवेक राउत कुर्मीको उपस्थिति रहेको थियो।
आश्रममा ल्याएपछि उद्धार गरिएका व्यक्तिको सरसफाइ तथा नुहाइधुवाइ गरिएको र चिकित्सक डा. भरत गोईको निगरानीमा आवश्यक औषधि उपचार गरिने मानवसेवा आश्रमले जनाएको छ।
मानवसेवा आश्रमले सडक तथा सार्वजनिक स्थानमा अलपत्र अवस्थामा रहेका असहाय, मानसिक रूपमा कमजोर तथा बेवारिसे व्यक्तिहरूको नियमित उद्धार गर्दै आएको छ।