प्रधानमन्त्री कप २०२६ को उपाधि त्रिभुवन आर्मी क्लबलाई

57

वीरगञ्ज, आनन्द पटेल। प्रधानमन्त्री कप २०२६ अन्तर्गतको रोमाञ्चक फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको छ।

वीरगञ्जस्थित टिभी साह क्रिकेट  Ground (टीबी शाह क्रिकेट मैदान) मा सम्पन्न उक्त खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। टोलीका लागि अशोक धामीले ४३ रनको महत्वपूर्ण योगदान दिएका थिए भने किरण ठगुन्नाले ३५ रन जोड्दै इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। अन्य ब्याटरहरूले अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा टोली ठूलो स्कोर बनाउनबाट वञ्चित रह्यो।

आर्मीको बलिङ आक्रमण निकै प्रभावशाली देखिएको थियो। आकाश चन्द र शाहब आलमले समान ३–३ विकेट लिएर सुदूरपश्चिमको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए। उनीहरूको किफायती बलिङले विपक्षीलाई ठूलो स्कोर बनाउन रोकेको थियो।

१६५ रनको लक्ष्य पछ्याएको आर्मीले सुरुवात केही दबाबपूर्ण भए पनि मध्यम क्रममा उत्कृष्ट साझेदारी गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो। आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाउँदै सहज जित निकालेको हो। इमरान शेखले ५६ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई जिततर्फ अग्रसर गराए भने वासिर अहमदले ४५ रनको महत्वपूर्ण योगदान दिँदै जित सुनिश्चित गरे।

बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए पनि अन्य बलरहरूले प्रभाव जमाउन नसक्दा टोली खेलमा फर्किन सकेन।

खेलका उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) वासिर अहमद घोषित भए। उनले ४५ रन बनाउनुका साथै ७ ओभर बलिङ गर्दै २५ रन खर्चिएर २ विकेट लिएका थिए। उनको अलराउण्ड प्रदर्शन आर्मीको जितमा निर्णायक बन्यो।

यस जितसँगै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कपको उपाधि जित्दै आफ्नो सशक्त उपस्थिति फेरि प्रमाणित गरेको छ भने सुदूरपश्चिम प्रदेश उपविजेतामै सीमित हुन पुग्यो।

यससँगै वीरगञ्जमा पहिलो पटक प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा पर्सा क्रिकेट संघले सम्पूर्ण खेलाडी, व्यवस्थापक, ग्राउन्ड स्टाफ, सुरक्षा कर्मी, सञ्चारकर्मी तथा क्रिकेट प्रेमीहरूप्रति धन्यवाद व्यक्त गरेको छ।

प्रतियोगिताका विभिन्न विधागत पुरस्कारहरू पनि घोषणा गरिएको छ।

उदीयमान खेलाडी आशिक बैठा, मधेश प्रदेशका घोषित भए।

सर्वोत्कृष्ट बलर हेमन्त धामी, सुदूरपश्चिम प्रदेश बने।

सर्वोत्कृष्ट ब्याटर अर्जुन कुमाल  गण्डकी प्रदेशका घोषित भए।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी  सन्तोष यादव, लुम्बिनी प्रदेशका घोषित भए।

Leave A Reply

Your email address will not be published.