प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवमा महेशचन्द्र गौतम, अर्जुन चौधरी र राजेन्द्र कोइराला सहित ५ जना सम्मानित

59

वीरगन्ज, १ भदौ । प्रतीक प्रकाशन समूहले प्रदान गर्दै आएको ‘सुबोध सिंह स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष वीरगन्जका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गरिएको छ।

प्रतीक दैनिकको ४०औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले गौतमलाई ५१ हजार रुपैयाँ राशिको पुरस्कार हस्तान्तरण गरे। वीरगन्जका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले उक्त पुरस्कार स्थापना गरेको हो।

सोही कार्यक्रममा यात्रा डेली डटकममा कार्यरत युवा पत्रकार अर्जुन चौधरीलाई ‘स्व. चिरञ्जीवी कोइराला पत्रकारिता (नव प्रतिभा) पुरस्कार’ बाट सम्मान गरिएको छ। त्यस्तै, प्रतीक दैनिकका स्तम्भकार राजेन्द्र कोइराला, संवाददाता चिरञ्जीवी सापकोटा र प्रेस कर्मचारी विजयबहादुर श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पटेलले पछिल्लो समय निष्ठापूर्वक पत्रकारिता गर्ने पत्रकारहरू नै समस्यामा पर्ने अवस्था बढ्दै गएको बताए। पत्रकारिता र राजनीतिमा खराब प्रवृत्ति बढ्दा दुवै क्षेत्र बदनाम भइरहेको उल्लेख गर्दै उनले गलत प्रवृत्तिविरुद्ध असल व्यक्ति तथा जिम्मेवार नागरिकले खबरदारी गर्नुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारिता क्षेत्र विभिन्न समस्याबाट गुज्रिरहेको बताउँदै राज्यले सञ्चारमाध्यम प्रति पूर्वाग्रही व्यवहार गरिरहेको आरोप लगाए। महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले स्थानीय राजनीतिक, आर्थिक तथा सामाजिक सरोकारका विषय उठानमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै स्थानीय तथा प्रदेश सरकारले सञ्चारमाध्यम प्रवर्द्धनमा अपेक्षित काम गर्न नसकेको बताए।

प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्माले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्रमा अवसरसँगै चुनौतीसमेत थपिँदै गएको बताए।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायत सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो।

Leave A Reply

Your email address will not be published.