भारतको ८०औँ स्वतन्त्रता दिवसमा ICCR र भारतीय महावाणिज्य दूतावासद्वारा वीरगञ्जमा विशेष सांगीतिक कार्यक्रम

53

वीरगञ्ज, १ भदौ। भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR) तथा भारतको महावाणिज्य दूतावास, वीरगञ्जको संयुक्त आयोजनामा आइतबार साँझ वीरगञ्जको आदर्शनगर स्थित टाउन हलमा विशेष लाइट म्युजिक (सुगम संगीत) कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रसिद्ध भारतीय गायक राजेश पाण्डेय सहित सात सदस्यीय टोलीले गीत, गजल, भजन तथा सूफी संगीत प्रस्तुत गर्दै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। कार्यक्रमले भारत–नेपालबीचको सांस्कृतिक तथा जनस्तरीय मैत्री सम्बन्धको सुन्दर झल्को दिएको थियो।

कार्यक्रमको शुभारम्भ भारतका महावाणिज्यदूत देवी सहाय मीणा, पर्साका सांसद हरि पन्त, मधेश प्रदेशसभा सदस्य वीणा शर्मा तथा गायक राजेश पाण्डेयले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा सशस्त्र प्रहरी बल, वीरगञ्जका प्रहरी उपरीक्षक मोहन क्षेत्रीको पनि उपस्थिति रहेको थियो।

संगीतले भारत–नेपाल सम्बन्ध थप सुदृढ बनाउँछ : मीणा

कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्यदूत देवी सहाय मीणाले भारत र नेपालबीचको सम्बन्ध कूटनीतिक सीमा भन्दा धेरै फराकिलो रहेको बताउनुभयो। उहाँले दुई देशका नागरिकबीच सदियौँ पुरानो सामाजिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्नुभयो।

संगीत र संस्कृतिले मानिसलाई जोड्ने प्रभावकारी माध्यम भएको बताउँदै उहाँले यस्ता सांस्कृतिक कार्यक्रमले दुई देशका कलाकार तथा नागरिकलाई एक–अर्काको संस्कृति बुझ्ने र आपसी आत्मीयता बढाउने अवसर प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो।

भारत र नेपालको साझा सांस्कृतिक विरासतले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

राजेश पाण्डेयको प्रस्तुतिले बाँध्यो माहोल

राजेश पाण्डेय तथा उहाँको टोलीको प्रस्तुतिका क्रममा टाउन हल तालीको गडगडाहटले गुञ्जायमान बनेको थियो। लोकप्रिय गीतसँगै गजल, भजन तथा सूफी संगीतका प्रस्तुतिले दर्शकको मन जितेको थियो।

कलाकारहरूको उत्कृष्ट प्रस्तुतिमा संगीतप्रेमीहरूले उत्साहपूर्वक ताली बजाउँदै हौसला प्रदान गरेका थिए। सुर र संगीतले सजिएको उक्त साँझमा भारत–नेपाल सांस्कृतिक मैत्रीको जीवन्त झल्को देखिएको थियो।

कार्यक्रममा भारत विकास परिषद्, शाखा रक्सौलका सेवा संयोजक तथा मिडिया प्रभारी बिमल कुमार सर्राफ, पूनम सर्राफ, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, पिया सिंह, गुड्डी जोशी, प्रसिद्धि आनन्द सिंह, अभिषेक चौधरी, राधेश्याम खेतान, जयप्रकाश खेतानलगायत स्थानीय गण्यमान्य नागरिक, कला तथा संगीतप्रेमी र भारत–नेपाल मैत्रीसँग जोडिएका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत मनीष दास, अजय जैन, चन्दन श्रीवास्तवलगायत दूतावासका कर्मचारीहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.