युवा उद्यमशीलताको नेतृत्व अब चन्दन सिंहको काँधमा, एनवाइइएफ वीरगञ्जको नयाँ कार्यसमिति गठन

47

वीरगञ्ज, असार १२ — नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपालिज यंग इन्टरप्रेनर्स फोरम (NYEF) वीरगञ्ज च्याप्टरको छैटौं वार्षिक साधारणसभा शुक्रबार वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोमा सम्पन्न भएको छ।

च्याप्टरका अध्यक्ष विश्वास प्रताप साहको अध्यक्षतामा आयोजित साधारणसभामा वीरगञ्ज उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरिप्रसाद गौतम प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले देशको आर्थिक विकास, रोजगारी सिर्जना तथा निजी क्षेत्रको सुदृढीकरणमा युवा उद्यमीहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले नवीन सोच, प्रविधि र व्यवसायिक दक्षताका साथ अघि बढ्न युवा उद्यमीहरूलाई आग्रह गर्दै उद्यमशीलता प्रवर्द्धनका हरेक प्रयासमा वीरगञ्ज उद्योग वाणिज्य संघको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

उनले अनुभवी व्यवसायी र युवा उद्यमीबीच सहकार्य, ज्ञान आदानप्रदान तथा सञ्जाल विस्तार आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले उद्यमशीलताको वातावरणलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

साधारणसभामा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं वरिष्ठ उद्योगपति गणेश लाठ, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, बीपीसी कलेजका बासु कर्ण, अर्बिन्द श्रेष्ठ, डा. सुबोध गुप्ता, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, सुदीप घिमिरे, पंकज अग्रवाल, मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, वरिष्ठ उद्योगपति अशोक वैद्य, राकेश मिश्रा, शम्भु प्रसाद गुप्ता, धिरेन्द्र सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष माधव राजपाल तथा अनूप अग्रवाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन दीप प्रज्वलनबाट गरिएको थियो भने ममता विद्यालयका बालबालिकाहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। दोस्रो उपाध्यक्ष मोहित गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

साधारणसभामा च्याप्टरले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, गतिविधि तथा उपलब्धिहरू समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। प्रतिवेदनमाथि छलफल गर्दै आगामी वर्षका कार्यक्रम, योजना तथा उद्यमशीलता प्रवर्द्धनका नयाँ पहलहरूबारे समीक्षा गरिएको थियो।

यसैबीच, छैटौं वार्षिक साधारणसभाले चन्दन सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित कार्यसमितिले युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, आपसी सहकार्य तथा व्यवसायिक अवसर विस्तारमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

सदस्यहरूबीच अनुभव आदानप्रदान, सहकार्य र भावी कार्ययोजनाबारे साझा धारणा निर्माण गर्दै कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सूर्यनारायण बिकले गरेका थिए।

Leave A Reply

Your email address will not be published.