प्रा. डा. जैनुद्दीन अन्सारीद्वारा सहभागीलाई प्रमाणपत्र वितरण, नेशनल मेडिकल कलेजको ६ दिने FDT तालिम सम्पन्न

38

वीरगञ्ज, १२ असार । नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा चिकित्सा शिक्षा विभाग, इन्स्टिच्युट अफ मेडिसिन (IOM), काठमाडौंको सहकार्यमा सञ्चालन भएको ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

७ देखि १२ असारसम्म सञ्चालन भएको उक्त तालिम चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै शिक्षकहरूको शिक्षण क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो।

कलेजको IBMS ब्लकस्थित कन्फरेन्स हलमा आयोजित समापन समारोहको अध्यक्षता नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहले गर्नुभएको थियो। कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दीन अन्सारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै इन्स्टिच्युट अफ मेडिसिनका प्रा. डा. निर्जु रञ्जित, प्रा. डा. संघरत्न बज्राचार्य तथा प्रा. डा. रमेश आचार्य अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

समारोहमा अस्पताल निर्देशक डा. इशरत जहान, एडमिसन तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी, उप–प्राचार्य डा. रविशंकर गुप्ता तथा नेशनल मेडिकल कलेज नर्सिङ क्याम्पसकी उप–प्राचार्य प्रा. डा. बबिता सिंहलगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त अनुभव र सिकाइ प्रस्तुत गरेका थिए। वक्ताहरूले फ्याकल्टी डेभलपमेन्ट कार्यक्रमले आधुनिक शिक्षण पद्धति, प्रभावकारी विद्यार्थी मूल्याङ्कन, अनुसन्धान प्रवर्द्धन तथा व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

प्रमुख अतिथि प्रा. डा. जैनुद्दीन अन्सारीले शैक्षिक उत्कृष्टता कायम राख्न यस्ता क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै प्रशिक्षक तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

समापन समारोहमा तालिम सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको अन्त्यमा उप–प्राचार्य डा. रविशंकर गुप्ताले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभएको थियो।

छ दिनसम्म सञ्चालन भएको उक्त तालिममा चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ प्रशिक्षकहरूले सहजीकरण गरेका थिए। तालिमले सहभागी शिक्षकहरूको ज्ञान, सीप तथा शिक्षण क्षमतामा उल्लेखनीय अभिवृद्धि भएको विश्वास व्यक्त गरिएको छ।

Leave A Reply

Your email address will not be published.