वीरगञ्ज, ९ असार – कक्षा १२ को परीक्षामा बारा, पर्सा र रौतहट जिल्लामध्ये प्रथम स्थान हासिल गरेकी छात्रा कुसुम खातुनलाई ओम नेशनल प्लस टु साइन्स कलेजले ल्यापटपसहित सम्मान गरेको छ।
कलेज परिसरमा आयोजित सम्मान कार्यक्रममा कलेजकी निर्देशिका सोभा यादव तथा निर्देशक हरिश्याम ठाकुर साहले खातुनलाई दोसल्ला ओढाई बधाईपत्र प्रदान गर्दै सम्मान गरेका थिए। उत्कृष्ट शैक्षिक उपलब्धिको कदरस्वरूप कलेजले उनलाई एक ल्यापटप उपहारसमेत प्रदान गरेको छ।
सम्मान ग्रहण गर्दै खातुनले सफलताको आधार धेरै पढ्नु मात्र नभई विषयवस्तुलाई बुझेर अध्ययन गर्नु रहेको बताइन्। उनले नियमित कक्षा लिनु, शिक्षकहरूको सुझावलाई आत्मसात गर्नु तथा पढ्ने–लेख्ने बानीको विकास गर्न सके उत्कृष्ट नतिजा हासिल गर्न सकिने उल्लेख गरिन्। साथै, उनले विद्यार्थीहरूलाई अनुशासित र नियमित अध्ययनमा जोड दिन आग्रह गरिन्।
कार्यक्रममा कक्षा १२ उत्तीर्ण गरेका सबै विद्यार्थीहरूलाई खादा र टीका लगाई सम्मान गरिएको थियो। कलेज प्रशासनका अनुसार यस वर्ष ओम नेशनल एकेडेमी प्लस टु साइन्स कलेजबाट २९० जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये करिब ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। उत्तीर्ण हुने अधिकांश विद्यार्थीहरूले ए प्लस र ए ग्रेड प्राप्त गरेका छन्।
कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कलेजकी निर्देशिका सोभा यादवले विद्यार्थीहरूको उत्कृष्ट नतिजाले कलेज परिवारलाई गौरवान्वित बनाएको बताइन्। उनले विद्यार्थीहरूको सफलतामा शिक्षकहरूको अथक मेहनत, अभिभावकहरूको सहयोग तथा विद्यार्थीहरूको लगनशीलता महत्वपूर्ण रहेको उल्लेख गर्दै सम्पूर्ण विद्यार्थी र शिक्षक टोलीलाई बधाई तथा धन्यवाद व्यक्त गरिन्।
कार्यक्रममा विद्यार्थी, शिक्षक–शिक्षिका, अभिभावक तथा कलेज परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गुणस्तरीय शिक्षा, अनुशासन र उत्कृष्ट नतिजाका कारण ओम नेशनल प्लस टु साइन्स कलेजले वीरगञ्जसहित मधेश प्रदेशको शैक्षिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्दै आएको छ।