नारायणी अस्पतालमा वीरगञ्ज समाज सेवाको निःशुल्क भोजन सेवा तीन वर्षदेखि निरन्तर

62

वीरगञ्ज, असोज १३ – वीरगञ्ज समाज सेवाले नारायणी अस्पताल परिसरमा सञ्चालन गर्दै आएको साप्ताहिक निःशुल्क भोजन सेवा कार्यक्रमलाई निरन्तरता दिएको छ। संस्थाले शनिबार तेस्रो वर्षको तेस्रो महिनाको तेस्रो साप्ताहिक भोजन कार्यक्रम सम्पन्न गरेको हो।

विगत तीन वर्षदेखि प्रत्येक शनिबार बिहान नारायणी अस्पताल परिसरमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रममार्फत उपचाररत विपन्न बिरामी, उनीहरूका कुरुवा, असहाय व्यक्ति, रिक्सा तथा ई–रिक्सा चालक, यात्रु र बटुवालाई निःशुल्क भोजन उपलब्ध गराइँदै आएको छ।

समाजकी सदस्य तथा समाजसेवी कल्पना किङरिङका अनुसार सेवा अभियानअन्तर्गत घरमा बनाइने जस्तै सफा, शुद्ध, गुणस्तरीय तथा पोषिलो भोजन वितरण गरिँदै आएको छ, जसबाट सयौं सेवाग्राही लाभान्वित भइरहेका छन्।

कार्यक्रममा बोल्दै वीरगञ्ज समाज सेवाका अध्यक्ष गुप्ताले “सेवा नै धर्म हो” भन्ने भावनाका साथ अभियान सञ्चालन भइरहेको बताए। उनका अनुसार हरेक हप्ता करिब ४५० देखि ५०० जनाले यस सेवाबाट लाभ लिँदै आएका छन्। उनले दिनदुःखी र असहाय व्यक्तिको सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने उल्लेख गर्दै अभियानलाई सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक तथा स्वयंसेवकप्रति आभार व्यक्त गरे। साथै काठमाडौंकी सुमिना प्रधान साईरामले नगद ३ हजार रुपैयाँ सहयोग प्रदान गरेकोमा विशेष धन्यवाद ज्ञापन गरे।

युवा समाजसेवी राजेश बरनवालले मानव सेवाभन्दा ठूलो धर्म नरहेको उल्लेख गर्दै नारायणी अस्पतालमा सञ्चालन भइरहेको अभियानले विपन्न र असहाय व्यक्तिलाई ठूलो राहत दिएको बताए। उनले यस्ता सामाजिक अभियानमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।

शनिबारको भोजनमा भात, दाल, आलु–चनाको तरकारी तथा हरियो खुर्सानीको अचार वितरण गरिएको थियो। स्वयंसेवकहरूले वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकताका साथ भोजन सेवा प्रदान गरेका थिए।

कार्यक्रममा रामबाबु गुप्ता, वीरेन्द्र आर्य, लालबाबु सिंह, राज महतो, शंकर राई, साचे मगर, रियान्स सिंहलगायत स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.