पर्सामा ट्राफिकको ब्ल्याक फिल्म विरुद्ध अभियान, सवारीबाट कालो सिसा हटाइँदै

46

वीरगञ्ज, असार १८ — जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी साधनमा अनधिकृत रूपमा जडान गरिएका कालो सिसा (ब्ल्याक फिल्म) तथा कालो स्टिकर हटाउने अभियानलाई तीव्र बनाएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठको निर्देशनमा सञ्चालन गरिएको अभियानअन्तर्गत विभिन्न सवारी साधनमा जडान गरिएका कालो सिसा र स्टिकर हटाइएको हो।

ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारी साधनको रङ, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन गर्न नपाइने कानुनी व्यवस्था रहेको जनाएको छ। सोही प्रावधान अनुसार सवारीमा जडान गरिएका कालो सिसा तथा स्टिकर हटाउने अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कालो सिसा प्रयोग गर्दा सवारीभित्रको गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले सुरक्षा निगरानी, अपराध नियन्त्रण तथा अनुसन्धानमा समस्या उत्पन्न हुने गर्दछ। यस्ता सामग्रीले आपराधिक गतिविधि लुकाउन सहयोग पुग्न सक्ने तथा सार्वजनिक सुरक्षा र शान्ति व्यवस्थामा समेत चुनौती सिर्जना गर्न सक्ने भएकाले अभियान सञ्चालन गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सबै सवारीधनी तथा चालकलाई कानुनविपरीत कालो सिसा वा स्टिकर प्रयोग नगर्न आग्रह गरेको छ। प्रयोग गरिएको पाइएमा कानुनबमोजिम हटाइने तथा आवश्यक कारबाही गरिने चेतावनी पनि कार्यालयले दिएको छ।

प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले सडक सुरक्षा, पारदर्शिता र कानुनको प्रभावकारी कार्यान्वयनका लागि यस्ता अनुगमन तथा कारबाहीलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो।

Leave A Reply

Your email address will not be published.