हरि खेतान कलेजका उत्कृष्ट विद्यार्थी सम्मानित, अञ्जलीलाई ११ हजार पुरस्कार

41

वीरगञ्ज, ६ भदौ । वीरगञ्जस्थित हरि खेतान बहुमुखी कलेजले शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

कलेज प्रमुख किशोरी रायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष डा. राम औतार खेतान प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष हरि गौतम, सल्लाहकार जयप्रकाश खेतान, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित बीबीएस परीक्षामा नेपालभर तेस्रो स्थान हासिल गर्न सफल कलेजकी छात्रा अञ्जली कुमारी गुप्तालाई विशेष सम्मान गरिएको थियो। उनलाई नगद ११ हजार रुपैयाँको चेकसहित प्रमाणपत्र, माला, खादा, टीका तथा मायाको चिनो प्रदान गरिएको थियो।

कलेज प्रमुख रायका अनुसार नेपालभरका ५५६ वटा कलेजमध्ये हरि खेतान बहुमुखी कलेजले यस वर्ष बीबीएस परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै नेपालमै प्रथम स्थान कायम गर्न सफल भएको छ।

त्यस्तै, कलेजका विद्यार्थी अमित कुमार बर्णवाललाई इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) प्रवेश परीक्षामा पहिलो प्रयासमै २१७औँ रैंक हासिल गरी पूर्ण छात्रवृत्ति प्राप्त गरेकोमा सम्मान गरिएको थियो। उनलाई नगद ५ हजार १ सय रुपैयाँको चेक, प्रमाणपत्र, खादा तथा टीका प्रदान गरिएको थियो।

लायन्स क्लबद्वारा आयोजित म्याराथनमा चौथो स्थान हासिल गर्न सफल सुशिला कुमारी तात्वालाई पनि प्रमाणपत्र, खादा तथा टीकासहित सम्मान गरिएको थियो। म्याराथनमै तेस्रो स्थान हासिल गरेकी आशा कुमारी साहलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा कलेजका पदाधिकारीहरूले विद्यार्थीहरूको मेहनत, लगनशीलता र उपलब्धिले कलेजको शैक्षिक पहिचान थप मजबुत बनेको बताए। उनीहरूले विद्यार्थीको प्रतिभा र क्षमतालाई प्रोत्साहन गर्न आगामी दिनमा पनि सम्मान तथा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

सञ्चालक समितिका सल्लाहकार जयप्रकाश खेतानले विद्यार्थीहरूको सफलताले कलेजसँगै वीरगञ्जको शैक्षिक क्षेत्रको प्रतिष्ठा बढाएको बताए। उनले उत्कृष्ट विद्यार्थीलाई निरन्तर प्रोत्साहन र सहयोग गरिने उल्लेख गरे।

सम्मानित विद्यार्थीहरूले प्राप्त उपलब्धिप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा अझ मेहनत गरी उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता जनाएका थिए। कलेजले आयोजना गरेको सम्मान कार्यक्रमले विद्यार्थीमा अध्ययन तथा अतिरिक्त क्रियाकलापप्रति थप उत्साह र प्रेरणा पैदा गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.