बुवाको सम्झनामा आमाको माया छात्रावासका बालबालिकालाई भोजन र सामग्री सहयोग

50

वीरगञ्ज, ६ भदौ । समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको सम्झनामा वीरगञ्जस्थित आमाको माया छात्रावासका विद्यार्थीलाई भोजन गराउनुका साथै आवश्यक सामग्री सहयोग गरेका छन्।

वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार तथा नेपाल बार एसोसिएसन पर्साका पूर्व अध्यक्ष समेत रहेका गुप्ताले छात्रावासका विद्यार्थीलाई स्नेहपूर्वक भोजन गराउँदै एक थान प्रेशर कुकर र एक थान साउण्ड सिस्टम सहयोग गरेका हुन्।

गुप्ता परिवारका महिला, युवा तथा बालबालिकासहितको सहभागितामा आयोजित कार्यक्रममा अधिवक्ता गुप्ताले विद्यार्थीलाई आफैंले खाना खुवाएका थिए। त्यसपछि छात्रावास प्रमुख सुजल चौधरीलाई सहयोग सामग्री हस्तान्तरण गरिएको थियो। विद्यार्थीले खाना, मिठाई तथा आइसक्रिमको स्वाद लिँदै खुसी व्यक्त गरेका थिए।

सो अवसरमा अधिवक्ता गुप्ताले आफ्ना बुवा रघुनाथ साह कानुको श्रावण १४ गते निधन भएको स्मरण गर्दै बुवाले आफूलाई सधैं दुःखी, असहाय तथा पीडामा रहेकाहरूलाई सक्दो सेवा र सहयोग गर्न प्रेरित गर्ने गरेको बताए।

“सेवा, सहयोग वा दान गर्दा कहिल्यै कमी हुँदैन, बरु बढ्दै जान्छ,” बुवाले आफूलाई सिकाउने गरेको स्मरण गर्दै गुप्ताले परिवार नै सेवाभावमा अघि बढिरहेको बताए।

उनले आफ्नो घरबाट केही मिनेटको दूरीमा रहेको आमाको माया छात्रावासलाई मानवताको सच्चा मन्दिरको संज्ञा दिँदै देशभरका असहाय तथा अनाथ बालबालिकालाई आश्रय दिएर शिक्षा प्रदान गर्ने अभियान प्रशंसनीय रहेको बताए। आगामी दिनमा पनि आफू र आफ्नो परिवार आश्रमसँगै रहने प्रतिबद्धता जनाउँदै उनले सबैलाई सक्दो सहयोग र हातेमालो गर्न आग्रह गरे।

छात्रावास प्रमुख सुजल चौधरीले विद्यार्थीबीच आएर माया र आत्मीयताका साथ भोजन गराउनुका साथै आश्रमलाई आवश्यक सामग्री सहयोग गरेकोमा गुप्ता परिवारप्रति आभार व्यक्त गरे।

उनका अनुसार आमाको माया छात्रावासको अभियान वीरगञ्जबाट सुरु भई हाल देशभर १० वटा बाल शाखा र एक बालिका शाखासहित ११ शाखामार्फत सञ्चालन भइरहेको छ। ती शाखामा ३५० भन्दा बढी असहाय बालबालिकाले आश्रय तथा शिक्षा प्राप्त गरिरहेका छन्।

कार्यक्रममा वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सामाजिक अभियन्ता लालबाबु सिंहले आमाको माया छात्रावासले असहाय बालबालिकालाई आश्रय, खानपान, आवास तथा शिक्षाको व्यवस्था गर्दै असल नागरिक निर्माणमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए।

उनले आश्रमको सेवा मूलक अभियानमा गुप्ता परिवारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै असहाय तथा अनाथ बालबालिकाको संरक्षण र शिक्षाका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए।

Leave A Reply

Your email address will not be published.