वीरगञ्ज महानगरपालिका वडा नं. ५ द्वारा घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा

45

वीरगञ्ज, २१ असोज ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीको नवीकरण कार्यलाई सहज र सेवाग्राही मैत्री बनाउन वीरगञ्ज महानगरपालिका वडा नं. ५ ले घरदैलोमै पुगेर नवीकरण सेवा प्रदान गर्ने अभियान सञ्चालन गरेको छ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि Biometric Verification (VERSP-MIS) प्रणालीमार्फत अनिवार्य प्रक्रिया पूरा गर्नुपर्ने भएकाले वडा कार्यालयसम्म आउन नसक्ने ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका तथा अस्वस्थ नागरिकलाई लक्षित गरी घरदैलो सेवा सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत वडा कार्यालयका जनप्रतिनिधि, महानगरपालिकाको पञ्जीकरण शाखाका प्रतिनिधि तथा वडा कर्मचारीहरूको संयुक्त टोली सेवाग्राहीको घरमै पुगेको थियो। टोलीले आवश्यक विवरण संकलन गर्दै बायोमेट्रिक प्रमाणीकरणमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणको प्रक्रिया पूरा गरेको जनाएको छ।

अभियान वडा अध्यक्ष प्रदीप कुमार चौरसियाको नेतृत्वमा सञ्चालन भएको थियो। टोलीमा वीरगञ्ज महानगरपालिका पञ्जीकरण शाखा प्रमुख बुद्धिमाया थापा, पञ्जीकरण शाखाकी अमृता साह, वडा सचिव अरुण बस्नेत, कम्प्युटर अपरेटर करिना श्रेष्ठ तथा वडा सदस्यहरू सञ्जु दाहाल, मनोज साह, मन्जु परियार र रुस्तम अलिलगायतको सहभागिता रहेको थियो।

घरमै बसेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पाएपछि वृद्धवृद्धा तथा अशक्त सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन्। उनीहरूले वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटाउँदै घरमै आएर सेवा प्रदान गरेकोमा महानगरपालिका, वडा अध्यक्ष तथा कर्मचारीहरूको टोलीप्रति आभार व्यक्त गरेका छन्।

वडा नं. ५ को यो अभियानले विशेषगरी शारीरिक रूपमा अशक्त, अपाङ्गता भएका तथा हिँडडुल गर्न कठिनाइ भएका नागरिकलाई प्रत्यक्ष राहत पुगेको जनाएको छ। नागरिकलाई कार्यालयमा बोलाएर सेवा दिनुभन्दा आवश्यकताअनुसार घरमै पुगेर सेवा प्रदान गर्ने यस अभियानले सामाजिक सुरक्षा भत्ता नवीकरणमा देखिने व्यावहारिक कठिनाइसमेत कम गर्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीले ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको घरदैलो नवीकरण सेवालाई नागरिकमैत्री सेवा प्रवाहको अभ्यासका रूपमा लिएका छन्। वडा कार्यालयले आगामी दिनमा पनि सेवाग्राहीको आवश्यकताअनुसार घरदैलोमै पुगेर सेवा प्रदान गर्ने जनाएको छ।

Leave A Reply

Your email address will not be published.