नेशनल मेडिकल कलेजसहित चार संस्थाको सहकार्यमा प्रसौनी बिर्तामा स्वास्थ्य शिविर, ३४६ जना लाभान्वित

63

आनन्द पटेल
वीरगञ्ज। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको आयोजना तथा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल वीरगञ्ज, म्याग्नस फार्मा प्रा.लि. र रुगंटा वेलफेयर सोसाइटीको सहकार्यमा वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तामा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

शनिबार बिहान ८ बजेदेखि श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, प्रसौनी बिर्ताको प्राङ्गणमा ‘रक्तदान जीवनदान, स्वास्थ्य हाम्रो समाज अभियान’ भन्ने मूल नाराका साथ आयोजित शिविरमा ३४६ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्।

शिविरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका विभिन्न छवटा विभागका विशेषज्ञ चिकित्सकहरूले स्थानीयको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए। अस्पतालका बालरोग, नेत्ररोग, स्त्री तथा प्रसूति रोग, नाक–कान–घाँटी, छाला रोग र दन्त विभागका चिकित्सकहरू शिविरमा खटिएका थिए।

शिविरमा बालरोग विशेषज्ञ डा. फारुक जकी अन्सारी, नेत्ररोग विशेषज्ञ डा. आदित्य प्रसाद, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मधुकुमार साह, नाक–कान–घाँटी विशेषज्ञ डा. सुमन खत्री, छालारोग विशेषज्ञ डा. निलमणि प्रियदर्शी तथा दन्तरोग विशेषज्ञ डा. सलोनी झाले सेवाग्राहीको स्वास्थ्य परीक्षण र आवश्यक परामर्श दिएका थिए।

कार्यक्रममा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। स्वैच्छिक रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परेको समयमा रगतको उपलब्धतामा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष सावित्रा कुमारी जैसी सहभागी थिइन्। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्ट तथा मधेस प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष पार्वती आचार्य भट्टलगायतको उपस्थिति थियो।

त्यसैगरी नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगर, सशस्त्र प्रहरी बल नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका उप-अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेल, श्रीजंग गण वीरगञ्जका सेनानी प्रभाकर सिलवाल तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीलगायत सुरक्षा निकायका अधिकारीहरू सहभागी थिए।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका–२३ का वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, रुगंटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुगंटा तथा ज्ञानदा एकेडेमीका प्रधानाध्यापक राजेन्द्र प्रसाद कोइरालालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीय अगुवाहरूको उपस्थिति थियो।

कार्यक्रम सफल बनाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत इन्जिनियर प्रदीप कुमार चौधरी र कर्पोरेट प्रमुख तथा मार्केटिङ म्यानेजर जितेश चन्द्र दासलगायतले समन्वय तथा सहयोग गरेका थिए।

समुदायस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने, स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीयलाई स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शको अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले अस्पतालको सेवा समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा जनस्वास्थ्यसम्बन्धी अभियानमा सहकार्य गर्दै आएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.