ब्रह्माकुमारीज वीरगञ्ज, सिमरा र भाथाबाबा मन्दिरमा छुट्टाछुट्टै रक्तदान, ७९ जनाले दिए रगत तीन स्थानमा

62

वीरगञ्ज, ६ भदौ । ब्रह्माकुमारी संस्थाकी पूर्व मुख्य प्रशासिका राजयोगिनी डा. दादी प्रकाशमणिज्यूको ९९औँ पुण्यतिथिको अवसरमा ब्रह्माकुमारीज वीरगञ्जको आयोजनामा रक्तदान तथा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित विश्वदर्शन भवन परिसरमा आयोजित शिविरमा सर्वसाधारणले रक्तदान गर्नुका साथै निःशुल्क आँखा परीक्षण सेवा लिएका थिए। आवश्यक परेका बिरामीलाई सहयोग पुर्‍याउने तथा समाजमा मानवीय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

ब्रह्माकुमारीज वीरगञ्जकी प्रमुख राजयोगिनी रबिना दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी १३ नम्बर गणका प्रमुख एसपी मोहन बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा श्रीमती मधु राणा, नेपाल इनोभेटिभ सोसाइटी वीरगञ्जका अध्यक्ष कमल चौगाई, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, गयासुदिन ठकुराईलगायतको उपस्थिति रहेको थियो।

किरण आँखा अस्पतालको सहयोगमा सञ्चालित आँखा परीक्षण शिविरमा सहभागीहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा आँखासम्बन्धी समस्या देखिएका सहभागीलाई आवश्यक परामर्शसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

यसैबीच, तीन छुट्टाछुट्टै स्थानमा आयोजित रक्तदान कार्यक्रममा १० महिलासहित कुल ७९ जनाले रक्तदान गरेका छन्। ब्रह्माकुमारीज वीरगञ्जको आयोजनामा भएको कार्यक्रममा ५ महिलासहित ४३ जना, ब्रह्माकुमारीज सिमराको आयोजनामा ५ महिलासहित ३४ जना र भाथाबाबा मन्दिरको आयोजनामा भएको कार्यक्रममा २ जनाले रक्तदान गरेका हुन्।

रक्तदान तथा निःशुल्क आँखा परीक्षणजस्ता सामाजिक र मानवीय सेवामूलक कार्यक्रममार्फत समाजमा सकारात्मक योगदान पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको ब्रह्माकुमारीज वीरगञ्जले जनाएको छ।

बिहान ८ बजेदेखि सुरु भएको शिविर दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो।

Leave A Reply

Your email address will not be published.