वीरगञ्ज कपडा बैंकको मानवीय सेवा, मुसहर बस्तीमा ६ सय थान कपडा वितरण

21

वीरगञ्ज, साउन २३। वीरगञ्ज कपडा बैंकले वीरगञ्ज महानगरपालिका–२२ मनियारी स्थित मुसहर टोलमा निःशुल्क कपडा वितरण गरेको छ।

गरिब, असहाय तथा विपन्न परिवारलाई लक्षित गरी बैंकले शनिबार मनियारीमा नयाँ तथा पुराना गरी करिब ६ सय थान कपडा वितरण गरेको बैंकका सल्लाहकार श्रवण बहादुर रायमाझीले जानकारी दिए।

वीरगञ्ज–८ स्थित आफ्नै कार्यालयबाट बैंकले प्रत्येक दिन आइतबारदेखि शुक्रबारसम्म बिहान १०ः३० बजेदेखि साँझ ६ बजेसम्म तथा शनिबार दिउँसो १ बजेसम्म गरिब तथा असहायलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको छ।

कपडा वितरण कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा अधिवक्ता प्रकाश उपाध्यायले मानवीय सेवाका कार्यमा सबैले हातेमालो गर्नुपर्ने बताए। उनले दिनदुःखी तथा असहायको सेवा र सहयोगमा सबैले आफ्नो क्षमताअनुसार योगदान गर्नुपर्नेमा जोड दिँदै ‘सेवा नै सर्वोत्तम धर्म हो’ भन्ने भावनाका साथ मानवताको मर्म अनुरूप सेवा गर्न आग्रह गरे।

वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार तथा समाजसेवी अधिवक्ता प्रकाश उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बैंकका सल्लाहकार एवं सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी, बैंकका सदस्यहरू निला कुमारी राम, हरेन्द्र पटेल ‘बाबा’, नवराज भट्टराई, कर्मचारी मिथलेश श्रीवास्तव तथा सञ्चारकर्मी आकाश कुमार पटेललगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा बैंकका अध्यक्ष सिंहले ‘कोही नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रका साथ वीरगञ्ज कपडा बैंक विगत सात वर्षदेखि नयाँ तथा पुराना कपडा संकलन र वितरणमार्फत मानवीय सेवामा सक्रिय रहँदै आएको बताए।

उनले बैंकको अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता, शुभेच्छुक, सञ्चारकर्मी, सल्लाहकार, पदाधिकारी तथा सदस्यहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.